काठमाडाैं, चैत २ :

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। सर्वोच्च अदालतको परमादेशअनुसार गठित समितिले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन आयोग गठन गरेको हो।

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे चयन भएका छन्। साथै, सेवा निवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्तका रूपमा मनोनीत भएका छन्।

महाधिवेशन मे ३-५ मा काठमाडौंमा

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेका अनुसार सर्वोच्च अदालतको परमादेशअनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै एनआरएनएको एकता महाधिवेशन आगामी मे ३ देखि ५ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको छ। उनले संघलाई लोकतान्त्रिक बनाउँदै सम्पूर्ण सदस्यहरूको अधिकार सुनिश्चित गर्न निर्वाचनलाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।

सदस्यता नवीकरणको आह्वान

महाधिवेशनका लागि नयाँ सदस्यता लिन वा पुरानो सदस्यता नवीकरण गर्न इच्छुक सदस्यहरूले यही ३१ मार्च २०२५ भित्र आवेदन दिन सक्ने उच्चस्तरीय समितिले जानकारी गराएको छ। साथै, समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौंमा उपस्थित भएर तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न सक्ने व्यवस्था गरिएको जनाएको छ।