काठमाडाैं, चैत २ :

सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने औंल्याएका छन्। साथै, पारस्परिक हितका क्षेत्रमा थप लगानी वृद्धि गरी साझेदारीलाई मजबुत बनाउन आवश्यक रहेको उनले बताएका छन्।

फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज आयोजना गरेको ‘काष्ठमण्डप संवाद’ कार्यक्रममा सभामुख घिमिरेले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत नेपाल-चीन सहकार्यलाई सुदृढ गर्दै नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने बताए।

नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध आपसी विश्वास, समझदारी, र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले बीआरआईले दुई देशबीचको साझेदारीलाई थप मजबुत बनाएको धारणा राखे। 'नेपालका लागि बीआरआई पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरसमेत हो,' उनले भने।

नेपालले भौगोलिक अवस्थितिको सही उपयोग गर्दै ‘ट्रान्जिट हब’का रूपमा स्थापित हुनसक्ने उल्लेख गर्दै सभामुख घिमिरेले यसका लागि भौतिक पूर्वाधार, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले नेपालले सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने लक्ष्य राखेको सन्दर्भमा चीनको साथ र सहयोग महत्वपूर्ण रहने बताए। 'नेपालको विकास यात्रामा चीनको निरन्तर सहयोगका लागि हामी आभारी छौँ,' उनले भने।

साथै, उनले सात दशकअघिदेखि नेपाल-चीन कूटनीतिक सम्बन्ध मजबुत हुँदै गएको उल्लेख गर्दै नेपालले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त (पञ्चशील) लाई दृढतापूर्वक पालना गर्दै आएको स्पष्ट पारे।

सभामुख घिमिरेले नेपालले ‘एक चीन नीति’लाई दृढतापूर्वक समर्थन गर्दै आएको बताए। चीन नेपालका लागि भरपर्दो विकास साझेदार मुलुक रहेको उल्लेख गर्दै उनले नेपालको समृद्धि यात्रामा चीनको निरन्तर सहयोगको प्रशंसा गरे। सभामुख घिमिरेले भने,‘नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ तुल्याउन हामी सधैं प्रतिबद्ध छौँ।'