
फाइल फोटो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई विश्वव्यापी विकास परियोजना भन्दै यसले पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारमा अभूतपूर्व अवसर प्रदान गर्ने बताएका छन्।
फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार आयोजना गरेको ‘काष्ठमण्डप संवाद’ कार्यक्रममा नेता खनालले बीआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा व्याख्या गर्ने धारणा गलत भएको बताए। उनले बीआरआई परियोजना विश्वका धेरै मुलुकका लागि वरदान सावित भएको उल्लेख गर्दै नेपालले यस अवसरलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।
‘बीआरआई नेपालका लागि महत्वपूर्ण प्रगति र समृद्धि हासिल गर्ने अवसर हो। यसलाई गम्भीरतापूर्वक विचार गरी सम्भावित फाइदाहरू बुझ्नुपर्छ,’ नेता खनालले भने।’
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चीनले पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरण, नवप्रवर्तन तथा अनुसन्धानमा उल्लेखनीय प्रगति गरिरहेको जानकारी गराउँदै नेपालको विकास प्रयासमा चीन सधैं सकारात्मक रहेको बताए। कार्यक्रम अन्तर्गत नेपालमा बीआरआई कार्यान्वयनका अवसर र चुनौतीबारे नेपाल र चीनका व्यवसायी, प्राध्यापक तथा विज्ञहरूबीच विस्तृत छलफल हुने आयोजकले जनाएको छ।