
काठमाडाैं, चैत २ :
काठमाडौंको नारायणहिटी अगाडि राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका छन्। मोटरसाइकल र्यालीसहित उनीहरूले शनिबार दिउँसो नारायणहिटी अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले नारायणहिटी खाली गर्न चेतावनी दिँदै राजा छिट्टै फर्कने दाबी गरे । गत फागुन २५ गतेदेखि राजावादीहरु बढी नै हौसिएका छन् । त्यसदिन पूर्वजारा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा पनि राजतन्त्रवादीहरुले भव्य स्वागतसहित विमानस्थल अगाडिबाट निर्मल निवास पुर्याएका थिए । केही नयाँ समूहहरूले पुनः राजसंस्थाको पक्षमा आवाज उठाइरहेका छन्।
उनीहरू पूर्वराजालाई राजसिंहासनमा बसाएर नेपालमा पुनः राजसंस्था स्थापित गर्न चाहन्छन् । यद्यपि अहिलेको अवस्थाले त्यो सहज ढंगबाट हुने स्थिति भने देखिदैन । राजावादीको प्रदर्शनले नेपालमा मात्र नभइ भारतमा समेत चर्चा बटुलेको छ ।