ललितपुर, चैत २ :

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को चालू अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताएका छन् ।

निर्भाणा माध्यमिक विद्यालयको शनिबार आयोजित ३९औं अभिभावक दिवसका अवसरमा अध्यक्ष दाहालले जनताका मौलिक हकअधिकार कार्यान्वयनका लागि ऐन पारित गर्न आवश्यक रहेको चर्चा गर्दै संसद्को चालु अधिवेशनबाटै ऐनहरु पारित हुने बताएका हुन् ।

‘हामी अझै पञ्चायतकालीन ऐनबाट निर्देशित हुन परिरहेको छ, ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैँलाई अनुभूत भएको छ,’ उनले भने, ‘शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने विद्यालय शिक्षा विधेयक अहिले प्रतिनिधिसभामा छलफलकै क्रममा छ । यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।’

अध्यक्ष दाहालले अहिले दुवै सदनमा निजामती विधेयक, प्रहरी समायोजनलगायतका विधेयक छलफलमा रहेको जानकारी गराए । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र होइन, समाजलाई समुन्नत बनाउन पनि उत्तिकै भूमिका खेल्ने बताए ।

‘मेरो बुझाइमा संस्कारसहितको शिक्षा भनेको विद्यार्थीलाई किताबी ज्ञान दिनुमात्र होइन, उनीहरूलाई नैतिकवान्, इमान्दार, जिम्मेवार र अनुशासनजस्ता मानवीय गुणहरू पनि सिकाउनु हो, त्यस्तै व्यावहारिक शिक्षा भनेको जीवनोपयोगी सीपहरू समस्यासँग जुध्ने क्षमता, आत्मनिर्भर र समाजसँग सकारात्मक रूपमा अन्तरक्रिया गर्न सक्ने क्षमता विकास गर्नु हो,उनले भने, ‘जब यी दुई पक्षलाई एकसाथ जोडिन्छ, तबमात्र सम्पूर्ण शिक्षा प्रणालीले व्यक्तित्वको समग्र विकास गर्न सक्छ ।’

सबै मिलेर बालबालिकालाई शिक्षित मात्रै होइन, असल र जिम्मेवार नागरिक बनाउने शिक्षा दिन आवश्यक छ भन्नेमा अध्यक्ष दाहालले जोड दिए ।उनले नेपालको शिक्षाको विकासमा संस्थागत विद्यालयको योगदान निकै महत्त्वपूर्ण रहेको बताए ।  तथापि नीतिगत सुधार र सबैको समान पहुँच सुनिश्चित गर्नसके संस्थागत विद्यालयहरू नेपालको शैक्षिक विकासमा अझ ठोस भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अभिभावकको विश्वास जितेर विद्यालयले विद्यार्थी बढाउन सफल भएजस्तै गुणस्तरीय शिक्षामा जोड दिन सुझाव दिइन् । उनले सबै बालबालिका सक्षम हुनका लागि जन्म लिएको हो भन्दै उनीहरुलाई सक्षम र सबल बनाउँदै क्षमता अभिवृद्धि  गर्न अभिभावकले माया, सद्भाव र उप्रेरणा जगाउने खालका क्रियाकलापमा जोड दिनुपर्नेमा जोड दिइन् । उनले विश्व बजारमा बिक्ने मात्रै हैन संसारलाई नेतृत्व गर्नसक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताइन् ।

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सन्तानको शिक्षादीक्षा आमाबाबुको महत्त्वपूर्ण चासोको विषय भएको बताउँदै २०२८ सालको शिक्षा ऐन समयसापेक्ष परिमार्जन हुन नसक्दा देशको विकास प्रभावकारी हुन नसकेको धारणा व्यक्त गरे ।

प्रधानाध्यापक शिव कार्कीले संस्कारसहितको व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित विद्यालयले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक विकास गर्ने लक्ष्य राखेको बताए ।

अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा २९ वर्ष एउटै विद्यालयमा अध्यापन गर्ने सविता श्रेष्ठ, निरशोभा चित्रकारका साथै शिक्षासेवी गोपालकृष्ण भट्टराई, आमा घरकी सञ्चालक दिलशोभा श्रेष्ठलाई रु ५० हजार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।