काठमाडाैं, चैत २ :

 काठमाडौँको टोखा नगरपालिका–१ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का सख्त घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार दिउँसो २:२५ बजे टोखा–१ फूलबारी गेटस्थित सडकखण्डमा बा.प्र. ०२-०३९ प.९८२८ र बा.प्र. ०२-०५३ प.६३७८ नम्बरका मोटरसाइकल ठोक्किएका थिए।

मृत्यु हुनेमा नुवाकोट शिवपुरी–५ महाकालीका रिवाज आचार्य रहेका छन्। आचार्यलाई उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का घाइते भोजपुर पवादुम्न गाउँपालिका–२ निवासी २८ वर्षीय प्रदीप तिवारीको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनापछि आक्रोशित स्थानीयवासीले सडकमा प्रदर्शन गरेका छन्। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग टोखाले जनाएको छ।