
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । ‘कार्यव्यवस्था परामर्श समिति’ को शनिबार बसेको बैठकले चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरेको हो ।
क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्नेछ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ ।
भोलि (आइतबार) बस्ने बैठकमा शून्य र विशेष समय पनि चल्नेछ ।
साथै, भाेलि नै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी उनले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियो' भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ । चैत ४ मा शून्य समय, आकस्मिक र विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।यस्तै चैत ७ मा भने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ ।