पाल्पा, चैत ३ :

कालीगण्डकी करिडोर अन्तर्गत राम्दी रानीमहल सडक खण्डमा काम गर्दै गरेका दुई जना मजदुरको शव कालीगण्डकी नदीमा फेला परेको छ। 

सिन्धुली जिल्लाका २६ वर्षीय भोजराज अस्लामी मगर र दाङ जिल्लाका ४५ वर्षीय तेजबहादुर रास्कोटीका शव बेपत्ता भएको केही दिनपछि मृत अवस्थामा नदीमा भेटिएका हुन्। प्रहरीका अनुसार, भोजराजको शव बगनासकाली गाउँपालिका–६ को यम्घा माइचौरमा कालीगण्डकी नदी किनारमा फेला परेको छ। 

यसैगरी, तेजबहादुर रास्कोटी फागुन २९ गते कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। 

उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि खोजतलास गरिएको थियो र तीन दिनपछि उनको शव नदीको २ सय मिटर टाढा मृत अवस्थामा भेटिएको छ।दुवै जनाको शवलाई पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएको छ।