काठमाडौं, चैत ३ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानबहादुर शाहीले मदन भण्डारीको हत्याको छानबिन गर्न माग गरेका छन् । संसद् बैठकमा आइतबार उनले हत्याका अभियुक्तहरूको पत्ता लगाउने भनिरहेका व्यक्तिहरू आज पनि प्रधानमन्त्री हुँदा, हत्याको वास्तविक कारण खुल्न नसकेकोप्रति असन्तोष व्यक्त गरे ।

शाहीले प्रतिप्रश्न गर्दै भने, ‘मदन भण्डारीको हत्या कसले गर्‍यो ? यो उजागर गर्ने भन्दै आजको प्रधानमन्त्री बनेका व्यक्ति त्यसबेला किन केही गरेनन् ? यसबारे छानबिन कसले रोकेको हो ? यसको जवाफ जनताले जान्न चाहन्छन् ।’

उनले त्यतिबेला राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेका भएको र देशमा दुईतिहाइको सरकार हुँदा पनि मदन भण्डारी हत्याको छानबिन नगरेको विषयमा गम्भीर आपत्ति जनाए ।

शाहीले राजतन्त्रसँग सम्बन्धित सवालहरू उठाउँदै प्रजातन्त्रको परिभाषा बदल्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘प्रजातन्त्रको नाममा यदि हत्याराहरू माथि जान सक्दैन भने जनताका हितका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति हुन आवश्यक छ ।’

यसैगरी, उनले नयाँ प्रजातन्त्रको ढाँचामा राष्ट्रपतिको स्थानमा राजा राखेर राजासहितको प्रजातन्त्रको पक्षमा धारणा व्यक्त गरे । उनले अहिलेको व्यवस्था भनेको चुनाव हार्ने हरुवा,चरुवाहरु मन्त्री बन्दै यो देशको प्रधानमन्त्री हुने र चुनावै नजिते पनि सांसद् बन्न पाउने व्यवस्था भन्दै कटाक्ष गरे ।

‘१६ वर्षको इतिहासमा १४ पटक सरकार परिवर्तन भयो । एक हजार मन्त्री भए, ३१ जना मुख्यमन्त्री भए, ३० जना प्रदेश प्रमुख भए, ३ जना राष्ट्रपति भए, ३ जना उपराष्ट्रपति भए र झन्डै ३ हजार जना सांसद भए । उनले भने, ‘सबैजना मिलेर खाने भएपछि यो व्यवस्था उत्तम हो भन्नु उहाँहरुलाई स्वभाविक हो ।’

सांसद शाहीले अहिले पनि देशमा कर्मचारी, नेता, सांसद्, मुख्यमन्त्री, मन्त्री, सानाराजा, छोटाराजा, महाराजाहरु पाल्दापाल्दै एक वर्षमा १५ खर्ब खर्च हुन्छ भन्दै त्यो व्यवस्था जोगाउनका लागि उनीहरुलाई यो व्यवस्था चाहिएको बताए । यो व्यवस्था जनालाई चाहिएको होइन भन्दै उनले अहिलेको प्रधानमन्त्री र राष्ट्रपति सीमित संसद्‌भित्रका केही व्यक्तिले चुनेको बताए ।