महोत्तरी, चैत ४ :

बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराएका छन् ।

परीक्षा सञ्चालन हुन तीन दिनमात्र बाँकी रहँदा मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक नभई गोलाप्रथाद्वारा तय गर्न समितिको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्री सिंहले एसइई परीक्षा सञ्चालनबारे प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले समसामयिक सुधार गरिँदै अघि बढ्न यसअघि नै जिल्ला परीक्षा समन्वय समितिलाई केन्द्राध्यक्ष गोलाप्रथाबाट नियुक्त गर्न पत्राचार गरिएको स्मरण गराएका छन्। तर केही जिल्ला परीक्षा समन्वय समितिले पुरानै प्रक्रियाअनुसार केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री सिंहले यसबारे विज्ञप्ति जारी गरेरै ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा परीक्षा सञ्चालनबारे परीक्षाको मर्यादाका लागि सम्बन्धित केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नतोकिने यसअघि भएका निर्णयको स्मरण गराइएको छ । केन्द्राध्यक्ष गोलाप्रथाबाट तोकिँदा निष्पक्षता र परीक्षाको मर्यादा दुवै पक्षमा सकारात्मक सन्देश र परिणाम प्राप्त हुने अवस्थाको अवज्ञा केही जिल्लाबाट भएको भन्दै यस्तो भए परीक्षा सञ्चालन प्रक्रियाबाट मधेस सरकार अलग्गिनेसम्मको ध्यानाकर्षण विज्ञप्तिमा उल्लेख छ ।  

यता जिल्ला परीक्षा समन्वय समितिहरूले यसअघिका वर्षहरूझै केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक तोकेर नै प्रक्रिया अघि बढाएका छन् । महोत्तरीमा पनि यसअघिका वर्षहरूमा भइआएको व्यवस्थाबमोजिम नै केन्द्राध्यक्ष तोकिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

फरक प्रक्रिया अघि बढाउन तयारीका लागि पर्याप्त समय नहुनु जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ ।

महोत्तरीमा यसपालि एक सय सात सामुदायिक र ३० संस्थागत विद्यालयका गरी एक सय ३७ विद्यालयका १० हजार नौ सय ४६ जना एसइई परीक्षामा सामेल हुँदैछन् । 

परीक्षा सञ्चालनका लागि जिल्लामा गत वर्ष २०८० कै ३२ केन्द्र कायम गरिएका छन् । परीक्षा सञ्चालनबारे केन्द्राध्यक्ष नियुक्तदेखि जनशक्ति व्यवस्थापन र अन्य सबै तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रजिअ कवारीको भनाइ छ ।