
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाएका छन्। सोमबारको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै सिटौलाले उनको पछिल्लो गतिविधिप्रति आपत्ति जनाएका हुन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफैँले संवाद गरेको स्मरण गर्दै सिटौलाले निवासको प्रबन्ध गरेको र सम्मान पनि गरेको भन्दै सम्मान ग्रहण गरेर बस्न आग्रह गरे ।
'म आफैँले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्रसँग संवाद गरेको हुँ,’ उनले भने, ‘निवासको, सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो । अहिले मै केही गर्छु भनेर गाडीमा बसेर ताली खाँदै हिँड्नु शोभनीय विषय भएन ।' उनले लामो संघर्षको समयमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुनु दुखद् भए पनि बताए ।
उनले पूर्वराजालाई राजनीतिमा आउन खोजेको हो भने आउनका लागि चुनौती दिए । साथै जनतालाई भड्काउने काम नलाग्न पनि चेतावनी पनि दिए ।
परिवर्तनकारी राजनीतिक दलहरूमा दृढता पनि नदेखिएको भन्दै उनले संविधानको पक्षमा राजनीतिक दलहरू एकपटक एकताबद्ध भएर उभिने बेला भएको बताए । सिटौलाले जनताको हितमा हुन नसकेको व्यवस्थालाई संविधान संशोधन गरेर सुधार गर्न ढिलाइ गर्न नहुने पनि सदनमा धारणा राखे ।
'धेरै ठुलो संघर्षको नेतृत्व हामीले गरेका थियौँ । धेरै ठुलो रक्तपात भएको छ मुलुकमा,’ उनले भने, ‘हामीले गर्न सकेको कुरा भन्न सक्नुपर्छ नसकेको कुरा पनि प्रस्ट भन्नुपर्छ ।’
विश्वको बदलिँदो राजनीतिक प्रभाव नेपालले धेरै बेहोर्नुपर्ने देखिरहेको पनि सिटौलाको भनाइ छ। पूर्वराजाको सक्रियता र राजावादीहरुको प्रदर्शनले पछिल्लो समय नेपालको राजनीतिमा केही तरंग पैदा भएको छ ।