
आँखामा मोतियाबिन्दुले ढपक्कै ढाकेपछि नातिनातिनाको सहयोगमा भित्रबाहिर गर्दै आउनुभएकी पाल्पाको बगनासकाली गाउँपालिका चिर्तुङ्गधाराकी लक्ष्मी ढुङ्गानाको शल्यक्रियापश्चात् ज्योति फर्किएपछि खुसी छन् ।
गाउँमा सञ्चालित शिविरमार्फत आँखा परीक्षण गरी तासेनस्थित पाल्पा लाकौल आँखा अस्पतालको उपचार केन्द्रमा एउटा आँखाको शल्यक्रिया गरेपछि ८२ वर्षीया ढुङ्गानाको आँखाको ज्योति फर्किएको हो ।
आँखाको ज्योति फर्किएपछि आफूले पुनर्जन्म पाएसरह भएको भन्दै उनले खुसी व्यक्त गरिन् । यसअघि आँखाले बाटो राम्रोसँग ठम्याउन नसक्दा कैयौँ पटक भिरपाखाबाट लडेको र काम बिग्रिएको सुनाइन् । अहिले गाउँपालिकाले निःशुल्क शल्यक्रिया गरिदिएपछि मनमा खुसी छाएको उनको भनाइ छ ।
अर्का चर्तुङ्गधाराका अमर विक पनि मोतियाबिन्दुको शल्यक्रियापछि उत्साहित छन् । उनले आर्थिक अभावमा आँखा उपचार गर्न नपाएको बेला गाउँपालिकाले निःशुल्क उपचार र शल्यक्रियाको व्यवस्था मिलाएकामा खुसी लागेको बताए ।
विकको आँखा मोतियाबिन्दुले ढाकेपछि लामो समयदेखि अन्धकारमय जीवन बिताउनुपरेको थियो । बाँया आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको भन्दै उनले पहिले जस्तै देखिएको र अब सजिलै हुँने विश्वास व्यक्त गरे ।
पोखराथोककी मैया कुमाल पनि आँखाको शल्यक्रियापछि खुसी छन् । “हेर्न आँखामात्रै भएर काम रहेनछ, देख्ने ज्योति नभएपछि, गाह्रो हुँदो रहेछ”, उनले भने, “अहिले शल्यक्रिया गरेपछि संसार देखेजस्तो भयो ।” उनीहरू जस्तै १९ जना ज्येष्ठ नागरिकको आँखाको ज्योति फर्किएको छ ।
बगनासकाली गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट चार हजार चार सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । गाउँपालिकाभित्रका १० वटा विद्यालय केन्द्रमा सञ्चालित शिविरमा चार हजार चार सय तीन जना लाभान्वित भएकामध्ये एक हजारभन्दा बढी ज्येष्ठ नागरिक छन् ।
सेवा लिएकामध्ये ७३ जनालाई मोतियाबिन्दुको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएपछि १९ जनाको शल्यक्रिया गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । उनका अनुसार बाँकीको यही चैत २० गते शल्यक्रिया गरिने छ ।