
त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज देशभर मतदान जारी छ ।
केही क्याम्पसमा भने तालाबन्दी, आन्तरिक विवादलगायत कारणले निर्वाचन स्थगित भएको छ ।
काठमाडौँको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएका कारण निर्वाचन स्थगित छ । लैनचौरस्थित अस्कल क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीपछि निर्वाचन स्थगित भएको छ । यस्तै, कीर्तिपुरको विश्विवद्यालय क्याम्पसमा पनि नेविसंघको तालाबन्दीले निर्वाचन स्थगित भएको छ ।
यस्तै, बागबजारस्थित पद्मकन्यामा नविसंघको आन्तरिक विवादका कारण त्यहाँ निर्वाचन हुन सकेन । यसैगरी बागबजारकै शंकरदेव क्याम्पस, प्रदर्शनीमार्गका नेपाल ल र विश्वभाषामा पनि आन्तरिक विवादका कारण निर्वाचन स्थगित भएको छ । यसैगरी ठमेलको सरस्वती क्याम्पस, क्षेत्रपाटीको पब्लिक युथ क्याम्पसमा समेत निर्वाचन भएको छैन ।
मतदानका लागि आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । अन्य क्याम्पसहरुमा आज तोकिएको समयमा मतदान सुरु भएपनि कतिपय क्याम्पसमा विवादका कारण मतदान रोकिएको छ ।
निर्वाचन भएका क्याम्पसहरूमा मतदानलगत्तै आजै साँझदेखि मतगणना सुरु गर्ने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए ।