
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा बेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने भएका छन् ।
वि.स २०८० असार २ गतेको अविरल वर्षाका कारण बाढीबाट संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा दर्जनौँ मानिस बेपत्ता भएसँगै संखुवासभाका प्रतिनिधीसभा सदस्यसमेत रहेका मन्त्री खड्काले वेपत्ता नागरिकको क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।
उक्त बाढीमा परेर संखुवासभाको हेवाखोलामा मात्र १९ नागरिक वेपत्ता भएका थिए । मन्त्री खड्काको पहलमा वि.स २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मनसुनजन्य प्रकोपमा बेपत्ता भएको व्यक्ति कम्तिमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
उक्त निर्णयसँगै अब देशभर विस २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका नागरिकको परिवारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत पाउने भएका छन् । उक्त व्यवस्थाले पीडित नागरिकको परिवारमा थोरै भएपनि राहत मिल्ने भएको छ ।