काठमाडौं, चैत ६ :

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा अहिले पनि लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुन सक्ने संकेत गरेका हुन्।

‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,' उनले भने, 'हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ ।’ 
अहिले पनि भारतबाट ८२५ मेगावाट विद्युत् आयात भइरहेको छ । भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ।

हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका हुन् । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।' नेपालको लोडसेडिङ हट्नुमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काको भनाइ थियो । कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए।

प्राधिकरण नाफामा रहेको भनी गरिएको दाबीमा कुनै सत्यता नभएको उनको तर्क छ। मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिए पनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए ।