
सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । आज नेप्से परिसूचक १४.८८ अंकले घटेको छ । ०.५५ प्रतिशतले घटेको नेप्से २,६८२.१५ विन्दुमा बन्द भएको छ ।
यो साता कारोबारको लगातार चौथो दिन आज (बुधबार) पनि सेयर बजारमा गिरावट आएको हो । ३११ कम्पनीको ९५ लाख ८३ हजार आठ सय २९ कित्ता सेयर ५४ हजार ६२२ पटक खरिद-बिक्री भएका छन् । जसकारण पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८२ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
आजको कारोबारमा होटेल तथा पर्यटन, म्युचल फन्ड र व्यापार समूहको उपसूचक बढे । बाँकी समूहको उपसूचक घटेका हुन् । होटेल तथा पर्यटन ०.१०, म्युचल फन्ड ०.०३ र व्यापार समूहको उपसूचक ०.६० प्रतिशतले बढेको छ । अरु सबै समूहका उपसूचक घटे ।
बैंकिङ समूह ०.५६, विकास बैंक ०.१३, वित्त १.५३, जलविद्युत् ०.६७, लगानी ०.४९ र जीवन बिमा समूह १.४८ प्रतिशतले घटेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.३३, लघुवित्त ०.४८, निर्जीवन बिमा ०.५१ र अन्य समूह ०.५१ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.२० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन री-इन्स्योरेन्स लिमिटेडको २९ करोड ६७ लाख ३२ हजार ६८२ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ३५ हजार ६२५ कित्ता सेयर किनबेच भएको छ ।