
काठमाडौं, चैत ६ :
५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आगामी वैशाख ३ गते सुनुवाइ हुने भएको छ । आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रुपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक काम पनि भएकाले दैनिक रुपमा सुनुवाइ गर्न कठिनाइ भएको जवाफ दिएका थिए ।
प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासको सुनुवाइमा पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा गरी ५२ संवैधानिक पदाधिकारी सिफारिस गरेका थिए। उक्त संवैधानिक निकायहरूमा भएका नियुक्तिविरुद्ध रिट दायर भएका थिए।