बाह्रबिसे, चैत ७ :

भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको गाडीमा अवैध विद्युतीय चुरोट फेला परेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेले भन्सार जाँच पास नगराई ल्याइएको ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको हो ।

प्रहरी चेकपोस्ट खुर्सानीवारिमा मङ्गलवार राति खटिएको टोलीले सवारी साधनको चेक जाँच गर्ने क्रममा तातोपानी भन्सारबाट  भाटभटेनीको सामान बोकी काठमाडौँतर्फ जाँदै गरेको मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ना.६ ख ५४९६ नंम्वरको  डिब्बा गाडीबाट ९३ डब्बा सामाग्री बरामद भएको छ । ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक  सुमेह पाण्डेले जानकारी दिए ।

बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ ।  बरामद भएका सामाग्री सहित चालक  भोटेकोसी गाउँपालिका वडा नंम्वर  २ का प्रवीण खत्री र डिब्बा गाडी  नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको छ ।