
महायज्ञ गर्न भन्दै दलितको घर भत्काइएकोप्रति सांसदहरूको आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले महायज्ञ गर्न गाउँपालिका अध्यक्षकै संलग्नतामा दलितको घर नै भत्काइएको घटनाले नेपाली समाजलाई लज्जित बनाएको बताएका छन्।
एकपछि अर्को गरी दलित समुदायमाथि हिंसाका घटनाहरू भइरहँदा पनि गृहमन्त्री रमेश लेखकले कुनै कदम नचालेर रमिते बनेको आरोप लगाउँदै सांसदहरुले दलित समुदायमाथि भइरहेका विभेदका घटनाका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा विष्णु महायज्ञ गर्ने नाममा त्यहाँ बसोबास गरिरहेका डोम समुदायका व्यक्तिहरूलाई उठिवास लगाइएकोमा आपत्ति जनाए। उनले डोम समुदायलाई उठिवास गर्ने काम भएको भन्दै दोषीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे।
यस्तै, सांसद अमरेशकुमार सिंहले महिला र दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न माग गरे। सांसद सिंहले देशभर हत्या र हिंसाका घटनाहरु बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
नेकपा एमालेकी सांसद सांसद सम्झना थपलियाले दलितविरुद्धका घटनाहरू रोक्न संसदीय छानबिन समिति गठन गर्न माग गरिन्।
गृहमन्त्री रमेश लेखकलाई दलितविरुद्धका घटनाहरू रोक्न कुनै कदम नचालेको आरोप लगाउँदै थपलियाले सभामुखमार्फत् सोधिन्, ‘तपाईं गृहमन्त्री दलित विरोधी हो? यसरी कसरी संघीय लोकतन्त्र बलियो हुन्छ?'
यस्तै सांसद रणेन्द्र बरालीले दलित समुदायमाथि ज्यादती बढ्दै भन्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे। सांसदहरू मनिष झा, अब्दुल खान, अशोककुमार चौधरी र प्रभु हजारा लगायतले पनि सिरहामा भएको उक्त घटनाको विरोध गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे।