
प्रधानमन्त्री केपी ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले आज (बिहीबार) फोन संवाद गरी यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिई पहल गर्ने आश्वासन दिएका थिए । यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन ओलीको आग्रह थियो ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग पनि फोनमार्फत कुराकानी गरेका थिए ।
आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका थिए ।
संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।