
काठमाडौं, चैत ७ :
प्रधानमन्त्री केपी ओलीले कृषिप्रधान मुलुक नेपालले जीविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दूरावस्था फेर्नुपर्नेमा जोड दिएका छन् ।
दक्षिण एसियाली किसान सम्मेलनको आज (बिहीबार) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउन सक्ने अवस्था हुन नसकेको बताए ।
उनले युवाहरुलाई विदेश पलायन हुन रोकेर साना साना उद्योगमार्फत आधुनिक कृषिको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने जनाए ।
सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान संगठनका प्रतिनिधि सहभागी छन् । दुईदिने सम्मेलनमा दक्षिण एसिया क्षेत्रमा रहेका किसानहरुले भोगिरहेका समस्या र ती समस्या समाधानका विषयमा बृहत् छलफल गरिने जनाइएको छ ।