
फाइल फोटो ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्रलाई ‘भूत र भ्रम’ भन्दै लोकतन्त्रलाई सुरक्षित राख्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
पार्टीको प्रथम महाधिवेशनअन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियानको उद्घाटन कार्यक्रममा सहभागी हुनुअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले वर्तमान राजनीति, लोकतन्त्रको रक्षा र आर्थिक क्रान्तिको आवश्यकताबारे धारणा राखेका थिए ।
भट्टराईले मधेसजस्ता उत्पीडित क्षेत्रहरू अब सचेत भइसकेकाले त्यहाँका जनतालाई फेरि छलकपट गर्न नसकिने बताए । ‘हामी पछाडि फर्किने कुरा हुँदैन । राजतन्त्र भूत हो, भ्रम मात्र हो,’ उनले भने, ‘यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग कुनै सम्बन्ध छैन ।’
उनले राजा र राणाकालमा अहिलेको भन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको दाबी गर्दै त्यतिबेला गलत कामहरू जनतासम्म पुग्नै नदिइएको बताए ।
भट्टराईले शिक्षा र चेतनाको अभावकै कारण विगतमा राजतन्त्र टिके पनि अहिले जनता सचेत भइसकेको बताए । ‘अहिले जनता पढ्न-लेख्न पाएका छन् । केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ । तर, राजाहरूले आफ्नै सत्ता जोगाउन खोलिएका विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो,’ उनले भने ।
उनले लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको भन्दै लोकतन्त्रलाई मजबुत बनाउन सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरे ।