
सङ्घीय संसद् अन्तर्गत आज विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन् ।
आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत र सार्वजनिक लेख समितिको बैठक बस्न लागेका हुन् ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण, संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेस गर्ने) प्रतिवेदन, २०७१ ले वैकल्पिक ऊर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।
यस्तै, पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा. लि. को निवेदन उपर छलफल हुने कार्यसूचीमा समावेश छ ।
बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यक्रमहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक लेखा समितिको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ । बैठकमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बक्यौता महसुलसम्बन्धी विषयमा छलफल हुने उल्लेख छ ।