काठमाडौं, चैत १० :

गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको पहिलो कारोबार दिन (आइतबार) पनि उच्च अंकले पहिरो गएको छ । नेप्से आज ५४.६२ अंकले घटेर २,६१४.६८ को विन्दुमा रोकिएको छ । यो २.०४ प्रतिशतको गिरावट हो ।

आज ३१७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता सेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री भए । जसअनुसार ६ अर्ब ३२ करोड एक लाख ४१ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह १.४७, विकास बैंक २.४२, वित्त २.९९, होटेल तथा पर्यटन २.२३, जलविद्युत् २.३३, लगानी २.०५ र जीवन बिमा समूह १.८५ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन १.४६, लघुवित्त २.३६, म्युचुअल फन्ड ०.६४, निर्जीवन बिमा २.०७, व्यापार २.८५ र अन्य समूह १.७६ प्रतिशतले घटेको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.७२ प्रतिशतले बढेको छ । बढी घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन री-इन्स्योरेन्स लिमिटेडको ४२ करोड ६ लाख ३४ हजार ९८१ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ५४ हजार ३७१ कित्ता सेयर किनबेच भएका छन् ।