
गृहमन्त्री रमेश लेखकले बालविवाहसम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेरसम्बन्धी प्रवधान सुधार गरी जान सकिने बताएका छन् ।प्रतिनिधिसभा, न्याय, कानुन तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री लेखकले यस्तो कुरा बताएका हुन् ।
‘यो विषय अत्यन्त गम्भीरताकासाथ सोच्न आवश्यक छ । यसको रोमियो एण्ड जुलियट विचारधारा पनि छ,’ उनले भने, ‘उमेर घटनाउने कि रोमियो अवधारणा कार्यान्वयनका लागि ऐन संशोधन गर्ने भन्ने कोणबाट छलफल गर्न सकिन्छ । यसमा छलफलका लागि सरकार खुला छ ।’
उनले विवाहको उमेरको विषयमा गम्भीर तरिकाले सोच्नुपर्ने बेला भएको भन्दै यस विषयमा थप छलफल गरेर सुझाव दिन सांसदहरूलाई आग्रह गरे ।
यस्तै, कानुनमन्त्री अजयकुमार चौरसियाले विवाहसम्बन्धी उमेर र त्यसको उल्लङ्घन गरेको गरिने दण्डसजायसम्बन्धी नयाँ प्रावधान समेटिएको केही समयभित्र संसद्मा विधेयक प्रस्तुत हुने जानकारी दिए ।
उनले भने, ‘विवाहको उमेरका सम्बन्धमा विभिन्न भनाइ आएका छन्, हालको व्यवस्था प्रजनन अधिकार र मातृस्वास्थ्यसँग जोडिएको छ । सरकार विभिन्न कोणबाट उठेको सबै आवाजकाबारे छलफल गर्न तयार छ ।’
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, सुरक्षा निकायका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिन र थुनामा रहेका नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए ।