सिरहा, चैत १० :

महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्षलाई  ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सिरहा जिल्ला अदालतले ५ दिन म्याद थप गरेको हो।

पीडित दिपक मरिकले शनिबार जातीय भेदभाव र छुवाछुतको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए। सिरहा प्रहरी निरीक्षक धर्मेश यादवका अनुसार, घटना सार्वजनिक भएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

गत फागुन १० गते विष्णु महायज्ञको आयोजना गर्ने बहानामा स्थानीय दिपक मरिक डोमको घर भत्काएको र माटोसमेत ताछेर फालेको घटनाले सदन र सामाजिक सञ्जालमा समेत ठूलो चर्चा पाएको छ ।