बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

कुलेखानी जलविद्युत्‌का तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
कुलेखानी जलविद्युत्‌का तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
चैत ११ :

मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् ।

सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।

कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताए ।

यही चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन आएको उनले बताए ।

रनअफ रिभरमा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका कुलेखानी जलविद्युत् केन्द्र प्रथमका सहायक इन्जिनियर रामकुमार बुढाथोकीले जानकारी दिए ।

“वर्षात्को समयमा रनअफ रिभरमा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा हुन्छ”, सहायक इन्जिनियर बुढाथोकीले भने, “त्यतिबेला हामी ड्याममा पानी सञ्चित गरेर राख्छौँ र सुक्खायाम सुरु भएसँगै रनअफरिभरमा आधारित आयोजनाको विद्युत् उत्पादन घट्छ ।” सुक्खायाममा कुलेखानी जलविद्युत्का युनिटहरू सञ्चालनमा आउने उनले बताए । 

अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेका र आवश्यक पर्यो भने चौबीसै घण्टा विद्युत् उत्पादन गर्ने उनले बताए ।

सहायक इन्जिनियर बुढाथोकीका अनुसार चालु आव २०८१- ८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०- ८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार