बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, स्टल बुकिङ खुल्यो

वैशाख २५ देखि २९ गतेसम्म हुने मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट पनि सहभागिता रहने ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, स्टल बुकिङ खुल्यो
काठमाडौं, चैत ११ :

नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष आगामी वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

मेलाका लागि चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट पनि सहभागिता रहनेछ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहनेछ ।

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्धन केन्द्रको प्रवर्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा क्यालेन्डर इभेन्टका रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ ।

३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायत देशका क्रेतालाई आमन्त्रण गरिनेछ ।

महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु, साथै चारपांग्रे र दुईपांग्रे विद्युतीय गाडी (ईभी) गाडीहरुसमेत राखिनेछ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्य छ ।

मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टल राखिनेछन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्धन तथा लगानीबारे छलफलसमेत हुने र मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा छ ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरुजस्तै मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने विश्वास महासंघले लिएको छ । मेलाका लागि आज (सोमबार) देखि बुकिङ खुला भएको पनि महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार