काठमाडौं, चैत ११ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पाँचौँ दीक्षान्त समारोहमा उनले नीतिसँगै राज्यको परिस्थिति पनि त्यसमा दोषी रहेको धारणा व्यक्त गरे ।

मन्त्री पौडेलले नेपालमा चाहिने स्वास्थ्यतर्फका जनशक्ति उत्पादन भइरहे पनि हरेक वर्ष एक हजार पाँच सयभन्दा बढी विदेशीने समस्या रहेको सुनाए । उनले अब नीतिगत सुधारमार्फत समस्या समाधान गरिनुपर्ने र त्यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

न्याम्सका सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले नेपालमा गुणस्तरीय र विश्वसनीय उत्पादनमा न्याम्सले पुर्‍याएको प्रशंसा गरे । उनले न्याम्सले जनशक्ति उत्पादन बढाउँदै गए पनि अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने उपलब्ध हुन नसकेको बताए ।

‘उपत्यका बाहिर कतिपय स्वास्थ्य संस्थामा जनशक्ति शून्यताकै स्थिति छ । यहाँ दीक्षित भएका जनशक्ति उपत्यकाभन्दा बाहिर गएर सेवा गर्ने परिस्थिति र अठोट गर्नुपर्छ ,’मन्त्री पौडेलले भने, ‘सरकारले सङ्गठन एवं व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर चिकित्सक र नर्सको सङ्ख्या बढाउने र बाहिर जाने परिस्थितिलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे आवश्यक योजना बनाइरहेको छ ।’

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न न्याम्सले योगदान गर्दै आएको बताए।

समारोहमा २०८० असार/साउनदेखि २०८१ वैशाख/जेठसम्ममा स्नातकोत्तर तह डिएम, एमडी, एमएस, एमडिएस, एमएन तथा स्नातक तह बिएनएस (क्रिटिकल केयर नर्सिङ), बिएमएस (मिडवाइफ्री साइनसेज), बिएससी एमआइटी र ब्याचलर अफ अप्टोमेट्री र भिजन साइन्समा उत्तीर्ण भएका दुई सयभन्दा बढी विद्यार्थीलाई दीक्षित गरिएको हो ।