
फाइल फोटो ।
प्रधानमन्त्री केपी ओली यही चैत १९ गते थाइल्यान्डको बैंकक जाने भएका छन्। बंगालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्ने भएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बिमस्टेक बैठक यही चैत १९ देखि २३ गतेसम्म बैंककमा आयोजना हुँदैछ। सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री आरजु राणालगायत अन्य मन्त्रीहरू पनि सहभागी हुनेछन्। साथै, बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्ता हुने बताइएको छ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो। यस क्षेत्रीय संगठनमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेका छन्।
यसअघि पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको थियो भने सन् २०१८ मा नेपालले चौथो शिखर सम्मेलनको आयोजना गरेको थियो। बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा समेत हेरिन्छ, जसमा पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन्।