काठमाडौं, चैत १२ :

नेप्से परिसूचक २५ सय विन्दुको यात्रामा लागेको छ । अघिल्लो दिन (सोमबार) २६.१० विन्दुले बढेर २,६४०.७८ अंकमा रोकिएको नेप्से आज (मंगलबार) भने ५८.०५ अंकले घटेर २,५८२.७३ अंकमा झरेको छ ।

६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढ्दा लगानीकर्ताहरु उत्साही बनेका थिए । तर मंगलबार पुन: ५८.०५ अंकले घट्दै सेयर बजार गिजोलिएको छ ।

आजको दिनमा ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.७३ अंकले घटेको छ ।

कम्पनीको वित्तीय अवस्था कमजोर भएको तर मूल्य भने निकै बढेपछि लगानीकर्ताले आफूसँग भएको सेयर थाल्दा नारायणीको मूल्यमा भारी गिरावट आएको अनुमान छ ।

मंगलबार सबै समूहका सूचक घटेर राताम्मे बनेका छन् ।

आजको दिनमा (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.४४ अंकले घटेर ४३४.९७ अंकमा झरेको छ । नेप्सेमा आज ३२५ कम्पनीको ६२ हजार २१ पटकको कारोबारमा एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम पाँच अर्ब १८ करोड सात लाख १८ हजार सात सय आठ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सबैको सूचक घटेर नेप्से राताम्मे बनेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा एनसीसी बैंकको ऋणपत्र परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा हिमालयन री-इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा छ ।