काठमाडौँ, चैत १२ :

सांसदहरूले हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको ३९ औँ बैठकमा आज हुलाकी, बिपी र अरनिकोलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे भएको छलफलमा सांसदहरूले आवतजावतमा सहज बनाउँदै तराईको अर्थतन्त्र सुधारका लागि पनि हुलाकी सडक समयमा नै सम्पन्न गर्न सुझाव दिएका हुन् । 

बैठकमा सांसद मोहनबहादुर बस्नेतले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्डमा रहेका ७० भन्दा बढी घरटहरा तथा मन्दिरका कारण  समयमा काम अगाडि बढाउन चुनौती रहेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । आगामी आर्थिक वर्षसम्ममा बजेट व्यवस्थापन हुन नसके उक्त बाटो समयमा नै सम्पन्न नहुने र बर्खामा अझै भद्रगोल बन्ने उनको भनाइ छ । नागरिक आन्दोलनमा उत्रिसकेको भन्दै उनले यस विषयमा पनि सरकारलाई विचार गर्न आग्रह गरेका छन् ।

बैठकमा सांसद रामकृष्ण यादवले ठूलो जनसङ्ख्या बसोबास गरिरहेको तराई(मधेशको महत्वपूर्ण हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन आग्रह गरे । 

सांसद मनिष झाले हुलाकी राजमार्ग ७९ वर्षअघि परिकल्पना गरिए पनि हालसम्म सम्पन्न हुन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

सांसद हरि ढकालले मुलुकका सडकहरू निर्माण तथा सुधारका लागि प्रशस्त बजेट नहुने तर अन्य अनावश्यक संरचना बनाउनका लागि राज्यको स्रोत खर्च भइरहेको भन्दै प्राथमिकताको आधारमा बजेट विनियोजन गर्न सुझाव दिए ।

सांसद जनार्दन शर्माले हुलाकी राजमार्ग निर्माणका लागि लामो समय लागेको भन्दै ऐन संशोधन गरेर भए पनि चाँडै सम्पन्न गर्नुपर्ने धारणा राखे । 

सांसद गोकुल बाँस्कोटाले समयमा नै सडक निर्माणको काम सम्पन्न नहुँदा जनताले सास्ती भोग्नुपरेको बताए । उनले बिपी राजमार्गसँग जोडिएका अवैध क्रसर उद्योगले विनाश निम्त्याइरहेको भन्दै उद्योग मन्त्रालयसँग समन्वय गरेर तिनको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।

सांसद मञ्जु खाँडले कमलापुलको अवस्था निकै दयनीय रहेको भन्दै तत्काल निर्माणका लागि सरकारले ध्यान दिनुपर्ने बताइन् । सांसद तारा लामाले पनि हुलाकी सडकको सबै स्थानमा कालोपत्र हुन नसक्दा सडक दुर्घटनाको जोखिम बढिरहेको जानकारी गराइन् ।

सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय गौरवका २५ आयोजनामध्ये तीनवटा मात्रै सम्पन्न भएको र २२ वटा आयोजना अझै अलमलमा रहेको भन्दै सरकारले गम्भीर बन्नुपर्ने बताए ।

सांसद प्रेम आलेले राज्यले काम गराएपछि समयमा नै ठेकेदारको भुक्तानी दिनुपर्ने बताए । सांसद योगेश भट्टराईले हुलाकी राजमार्गलाई महत्वका साथ हेर्न अनुरोध गरे । सांसदहरू अच्युत मैनाली, ज्वालाकुमारी साह, सञ्जयकुमार गौतम, दीपक गिरीले पनि आयोजना प्राथमिकताको आधारमा छनोट गरी प्रभावकारी कार्यन्वयन गर्न सुझाव दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ३७ प्रतिशत रहेको जानकारी दिए । आयोजनाको लक्ष्य १८५७ किलोमिटर तथा २५० पुल निर्माण सम्पन्न गर्ने रहेको छ । 

आव २०६६-०६७ मा सुरु भएको आयोजना आव २०८३-०८४ मा  सम्पन्न गर्ने गरी म्याद थपिएको छ । आयोजनाको लागत करिब एक खर्ब दुई अर्ब रहेको त्यस अवसरमा जानकारी दिइएको छ ।