
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहसअन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रम बुधबार उनले समाजलाई असल बाटोमा डोर्याउने जग नै शिक्षा भएको बताए । राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उनको भनाइ छ । शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बताए ।
त्यस्तै उनले नेपालमा शिक्षाको लहर २००७ सालको क्रान्तिपछि आएको भन्दै उनले अब समयअनुकूलको शिक्षा दिन सक्नुपर्ने धारणा राखे । अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरूको सुझाव महत्त्वपुर्ण हुने बताए ।
कार्यक्रममा नगर प्रमुख र उपप्रमेखहरूले शिक्षा विधेयमाथि पालिकाको धारणा र सुझाव राखेका छन् । विभाग प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उनीहरुका सुझाव समेट्न विमर्श कार्यक्रम आयोजना गरेको जनाए ।