मुस्ताङ, चैत १४ :

हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१-८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ । 

गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका  कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्यौट भएको हो ।

 मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फर्छ्यौट भएको हो । यस्तै, गत वर्ष र चालु वर्षका कूल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा अदालतबाट फर्छ्यौट भइसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए । 

उनका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ दुई थान र फौजदारी मुद्दातर्फ नौ थान गरी कूल ११ थान मुद्दा फर्छ्योट हुन बाँकी रहेको छ । मुस्ताङ जिल्ला अदालतबाट गत आवमा दर्ज भएका देवानीतर्फका दुई थान मुद्दामध्ये दुई वटै फर्छ्योट भएका छन् । 

गत वर्षदेखि चालु वर्ष जिम्मेवारी सरेको अंशसम्बन्धी एक र सम्बन्ध विच्छेद एक गरी दुई थान मुद्दा यस वर्ष फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताए ।

यसैगरी गतवर्ष दर्ता भएका आठ थान फौजदारी मुद्दामध्ये चार थान मुद्दा चालुवर्ष फर्छ्योट भएको र बाँकी चार थान मुद्दा फर्छ्योट हुन नसकी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार घिमिरेको भनाइ छ ।

मुस्ताङ जिल्ला अदालतमा चालु आवमा देवानीतर्फ १५ थान मुद्दा दर्ता भएका छन् । जसमध्ये १३ थान देवानी मुद्दा फर्छ्योट भएको छ । दुई थान मुद्दा फर्छ्योट हुन बाँकी छ ।

चालु वर्ष दर्ता भएका देवानी मुद्दातर्फ सबैभन्दा बढीसम्बन्ध विच्छेदका १३ थान मुद्दा रहेकामा शतप्रतिशत मिलापत्रमार्फत फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए । मुस्ताङ अदालतबाट कूल १५ थान देवानी मुद्दामध्ये  नाता कायम र अंश लेनदेनसम्बन्धी मुद्दा अदालतबाट फर्छ्योट हुन बाँकी छ ।