
काठमाडौंमा शक्ति प्रदर्शनको तयारीसँगै पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासमा राजावादीहरुको चहलपहल बढेको छ । पूर्वराजा ज्ञानेन्द्र पनि विभिन्न व्यक्तिसँगको भेटघाटमा व्यस्त छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शक्ति प्रदर्शनको अघिल्लो दिन अर्थात् आज (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासमै पुगेर भेट गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले भोलि (चैत १५ गते शुक्रबार) राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनप्रदर्शन गर्दै छन् ।
यसअघि हिजो (बुधबार) मात्रै प्रदर्शनको सन्दर्भलाई लिएर नवराज सुवेदीले पनि पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवास पुगेर भेट गरेका छन् ।
गत फागुन ७ गते एक वक्तव्य सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो सक्रियता बढाएका छन् । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणबाट काठमाडौं फर्किँदा राजावादी दल र धार्मिक संघ-संस्थाहरुले १०औं हजार मान्छे स्वागतका लागि सडकमा उतारेका थिए ।
यस्तै राजसंस्था पुन:स्थापना लागि गठित संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले बिहीबार (आज) राजधानीमा पत्रकार सम्मेलन गर्दै कमान्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिएको जनाएका छन् ।
योसँगै अब राजसंस्था पुन:स्थापना लागि गठित संयुक्त जनआन्दोलन समितिको कमान्डरको जिम्मा प्रसाईंको काँधमा आएको हो ।
‘प्रसाईंमा आन्दोलनको नेतृत्व गर्ने क्षमता र आँट भएकाले नै प्रदर्शनको नेतृत्व गर्ने जिम्मेवारी उनलाई दिएको हो,’ सुवेदीले पत्रकार सम्मेलनमा भने । पञ्चायतकालीन नेता सुवेदीले आन्दोलनमा सहभागी हुन अपिलसमेत गरेका छन् ।
प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा राजावादी पक्षधरको प्रदर्शन हुँदै छ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ । प्रदर्शनमा एक लाखभन्दा बढी मानिस उतार्ने राजावादीहरुको दाबी छ ।
पूर्वराजाको स्वागतको समयमा थुप्रै मानिस सडकमा उतारेर हौसिएका राजावादीहरु व्यवस्था नै परिवर्तन गरेर राजसंस्था पुन:स्थापना गर्न खोज्दै छन् ।
गणतन्त्र पक्षधरहरूले पनि सोही दिन अर्थात् भोलि (चैत १५ गते शुक्रबार) नै काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । दुई छुट्टाछुट्टै ठाउँमा हुने प्रदर्शनलाई ध्यानमा राखेर प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।