
काठमाडौँमा आज गणतन्त्रवादी र राजावादी समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था बलियो पारिएको छ ।
गणतन्त्र पक्षधर र विरोधी राजावादी समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले दुई छुट्टाछुट्टै स्थान तोकेर सोही अनुसारको सुरक्षा व्यवस्थापन मिलाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग- भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ ।
दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा सतर्कतासहितको तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
दुई फरक समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम स्थल, र्यालीका लागि प्रयोग गरिने रुट फरक पारी सभास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको उनले बताए ।
दुवै समूहबिच छुट्टाछुट्टै छलफल र समन्वय भएकोले दुवै पक्षले प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए ।
समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूहले गणतन्त्रका पक्षमा प्रदर्शन गर्दै छन् ।
त्यस्तै राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले पनि सुरक्षा व्यवस्था मजबुत बनाइएको जानकारी दिएका छन् । दुवै पक्षले आयोजना गर्ने प्रदर्शन स्थल, र्यालीमा प्रयोग हुने रुटको सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि शुक्रबार बिहानैबाट आवश्यक प्रहरी परिचालन गरिएको पनि उनले बताए ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभागले पनि सादा पोसाकमा आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।