
प्रदर्शनरत नेपाली चलचित्र ‘अञ्जिला’ की प्रमुख कलकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार बिहान काठमाडौं आइपुगेकी छन् ।
आफ्नै जीवनमा आधारित चलचित्रको प्रचारका लागि उनी कतार एयरवेजको विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । चार दिनको नेपाल बसाइका लागि ग्रिसबाट नेपाल आएकी एन्जिलालाई चलचित्र युनिटले स्वागत गरेको छ ।
शुक्रबारै उनी काठमाडौं उपत्यकाका विभिन्न हलमा दर्शक भेट्न पुगेको निर्देशक मिलन चाम्सले जनाए । शनिबार पनि काठमाडौं रहने एन्जिला आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्नेछिन् । उनी पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङका हलहरूमा पुगेर दर्शकसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको चाम्सले बताए ।
निर्माता प्रेमकुमार श्रेष्ठले एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्रको लागि रहेको बताए । हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलका लागि उनी केही महिनायता ग्रिसमै थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
बिहीबारदेखि तेस्रो सातामा प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । चलचित्रलाई दर्शकले मन पराइरहेका छन् । बक्स अफिसमा पनि लगातार राम्रो कमाइ गरिरहेको छ ।