काठमाडौं, चैत १५ :

प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक एक घण्टाका लागि स्थगन भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत सांसदले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टाका लागि स्थगन गरेका हुन् ।

त्यसअघि सांसद तुलप्रसाद विश्वकर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयका सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गरेका थिए ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री र सम्बन्धितमन्त्री संसद्प्रति उत्तरदायी हुने भनिएको छ,’ उनले भने, ‘त्यसैले उक्त सम्बन्धमा हामीलाई जवाफ चाहिन्छ ।’ कुलमानलाई हटाउने विषय सुशासनसँग जोडिएको दाबी गर्दै उनले उक्त विषयले नयाँ तरंग सिर्जना गरेको बताए ।

उनले अध्यादेशको प्रतिस्थापन विधेयकमा प्रतिपक्षले राखेको संशोधन प्रस्तावको सम्बोधन हुन नसकेको समेत उल्लेख गरे । ‘उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले अध्यादेशमा भएका कमी-कमजोरी र अरु ऐनसँग बाँझिएका विषयमा छलफल गर्ने भने पनि त्यो हुन सकेको छैन,’ उनले भने ।