
राजावादीहरुले आज गरेको प्रदर्शन अराजक बन्दै गएको छ । व्यक्तिका घर, पसल, सञ्चारगृह तथा सरकारी सम्पत्तिमा आगजनीका घटनाहरू भएका छन् ।
यो स्थिति बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । आगजनी, तोडफोड र अराजक प्रदर्शन हुन थालेपछि सुरक्षालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरिएको हो। आदेशअनुसार राति १० बजेसम्म त्यस क्षेत्रभित्र भेला, जुलुस, प्रदर्शन तथा घेराउ जस्ता गतिविधिहरू गर्न पाइने छैन।
गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहित गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो ।
कर्फ्यु शुक्रबार अपराह्न ४:२५ देखि राति १० बजेसम्म लागु गरिएको प्रजिअ तिवारीले सूचनामार्फत जनाएका छन् । यो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै आवतजावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ ।
कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।
राजावादी समूहले काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर टेलिभिजनको कार्यालय, गैरीगाउँमा रहेको अन्नपूर्ण पोस्टको कार्यालय, आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन् । यसैगरी राजावादी प्रदर्शनकारीहरूले पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा आक्रमणको प्रयाससमेत गरेका छन् ।
तीनकुने क्षेत्रमा प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा हवाई फायर गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको थियो। अहिले तीनकुने मैदान खाली गराइएको छ।
यो पनि…
राजावादीको प्रदर्शन, व्यक्तिका घरमा तोडफोड र आगजनी [तस्बिरसहित]