काठमाडाैं, चैत १५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि अर्को गल्ती गरेमा भोग्न बाँकी केही नरहने चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाले आयोजना गरेको प्रदर्शनपछि काठमाडौंको भृकुटीमण्डपमा आयोजित आमसभामा उनले पूर्वराजा शाह पुनः राजतन्त्र फर्काउने गतिविधिमा संलग्न रहेको आरोप लगाए । उनले पहिलो गल्ती स्वरूप निरंकुश शासन लादेकै कारण राजतन्त्र अन्त्य भएको र यदि अर्को गल्ती भएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने बताए ।

दाहालले राजतन्त्र इतिहास भइसकेको उल्लेख गर्दै इतिहासलाई पछाडि फर्काउने कुनै पनि दुस्साहसलाई नेपाली जनताले परास्त गर्ने दाबी गरे । ‘पूर्वराजा फर्किन खोजे त्यो अर्को गल्ती हुनेछ,’ उनले भने, ‘जसका कारण उनीहरूले भोग्न बाँकी केही नरहनेछ । युद्ध र आन्दोलनबाट खारिएका जनता, सामन्ती सत्ताबाट दमनमा परेका नेपाली जनता, दलित, महिला, मधेसी, आदिवासी-जनजाति सबै प्रतिवादमा उत्रनेछन् ।’

उनले आफूहरूका केही कमजोरीका कारण जनतामा निराशा बढेको स्वीकार्दै तिनको आत्मसमीक्षा गरेर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंकै तीनकुनेमा राजावादी प्रदर्शनकारीले गरेको तोडफोडको घटनालाई इंगित गर्दै दाहालले भने, ‘हामीभित्र लागेको धुलो टकटकाउँदै अघि बढ्छौँ । जनतामा गएर विशाल समर्थन लिएर आउँछौँ । तर, मण्डले गुन्डागर्दीलाई छुट दिने छैनौँ ।’

राजतन्त्रलाई सामन्ती अवशेषको संज्ञा दिँदै उनले सडकबाटै प्रतिरोध गर्ने चेतावनी दिए । ‘माओवादी जनयुद्धको कमान्डरको हैसियतले अहिले शान्तिपूर्ण क्रान्ति जरुरी छ,’ उनले भने, ‘उनीहरूले एक लाख ल्याए, हामी एक करोड ल्याएर सडकबाटै जवाफ दिन्छौँ ।’