नेपाली कांग्रेसले तीनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ । कांग्रेसले आज विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारीसाधन आदिमा भएको तोडफोड र आगजनीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
“लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो । संसद्मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका जनताका प्रतिनिधिहरूको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्तिमार्फत नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको उल्लेख गर्दै नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन दृढ ढङ्गले प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
कांग्रेसले कमजोरीको निदान खोज्न र समाधान पहिल्याउन दृढ रहेको उल्लेख गर्दै समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकाङ्क्षा सम्बोधन यही संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिने जनाएको छ । “लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । कांग्रेस सबै राजनीतिक दललाई यसमा स्पष्ट ढङ्गले उभिन अपिलसमेत गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।
हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । साथै कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दै समस्त नेपालीमा संयम र एकताका लागि अपिलसमेत गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान