रूपन्देही, चैत १६ :

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल भैरहवास्थित सिद्धार्थ रङ्गशालामा अहिले बिहान ९ बजेदेखि हुँदैछ ।

जारी प्रतियोगितामा नौ खेल खेलेको नेपाल पुलिस आठमा जितसहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने नौ खेल खेलेको आर्मी पनि आठमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनल पुगेको छ । लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको थियो ।

वि.सं २०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्षको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । 

आर्मी यसपटक जित निकाल्ने योजनामा छ भने राम्रो गतिमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने योजनामा छ । फाइनलमा पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।

पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भएका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका छन् । 

गत फागुन २५ देखि सुरु भएका कूल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

उपाधि रक्षाका लागि दुवै टिमले आन्तरिक रणनीति बनाएका छन् ।