
काठमाडौं महानगरपालिकाले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र लेख्दै ७ लाख ९३ हजार जरिवाना तोकेको छ । राजावादीहरुले शुक्रबार आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको हो ।
तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । महानगरले तोकेको जरीवाना शीर्षकमा कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख र महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख र तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख तोकेको छ ।
यसैगरी जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख, बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख, महानगरको दमकल फुटाएको– १ लाख ३० हजार, तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड ४० हजार र तीनकुनेको आइल्याण्डमा तोडफोड गरेको २३ हजार गरी ७ लाख ९३ हजार जरिवाना तोकेको हो ।
यसअघि महानगरले नेकपा एमाले र राप्रपालाई पनि सडक प्रदर्शनका क्रममा फोहोर गरेको र विरुवा नास गरेको भन्दै जरिवाना तिराएको थियो ।