
राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले प्रहरीसँग माफी मागेका छन् ।
तीनकुने घटनापछि फरार रहेका प्रसाईंले आइतबार सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका हुन् । उनले सुरक्षाकर्मीलाई लक्षित गर्दै तपाईंहरुप्रति कुनै दुष्मनी नभएको जनाउँदै पर्न गएको चोटप्रति क्षमा मागेका छन् ।
उनले आफू प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे भएको समेत दाबी गरे । प्रसाईंले भने छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’
उनले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । आफ्नो कानको छेवैबाट गोली गएको र मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ उनले भिडिओ सन्देशमा भनेका छन् ।
तीनकुनेको प्रदर्शनमा प्रसाईंले प्रहरीको घेरा तोड्दै गाडी अगाडि बढाएको भिडिओ पनि सामाजिक सञ्जालमा छरपस्ट छन् । भिडिओमा उनले कैयौंपटक अश्लील शब्द पनि प्रयोग गरेको सुन्न सकिन्छ । प्रहरीले अहिले पनि उनलाई खोजी गरिरहेको छ । उनीसँगै प्रदर्शनमा सामेल भएका राप्रपाका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणा भने प्रहरी नियन्त्रणमा रहेका छन् ।
