
ईरानी राष्ट्रपति मसौद पेजेश्कियन
ईरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् ।
उनले ईरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने बताउँदै, केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको स्पष्ट पारेका छन् ।
ट्रम्प प्रशासनले यदि तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिएको छ ।
राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि अमेरिकाले पहिले आफ्नो गल्ती सुधार्नुपर्ने बताएका छन् । उनका अनुसार, जबसम्म अमेरिका विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव छैन ।
ईरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी दिए। यसबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा यदि ईरानले सम्झौतामा सहमति नजनाए अमेरिका बम आक्रमण गर्न सक्ने चेतावनी दिए ।
उनले चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी पनि दिएका छन् । विश्लेषकहरूका अनुसार, ईरानले ट्रम्पमाथि विश्वास नगर्नु ठीक भएको बताए छन् । किनभने उनले २०१५ मा भएको आणविक सम्झौता तोडेका थिए ।
ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको बताए । उनले अप्रत्यक्ष वार्ताबाट ईरानले अर्को पक्षको मनसाय बुझ्ने र त्यसपछि उचित निर्णय गर्ने बताए ।
संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार, ईरानले आणविक हतियार बनाउन लागेको छैन, तर उसँग आवश्यक आणविक सामग्री भने छ । ईरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ।
अमेरिकी प्रतिबन्धका कारण ईरानी अर्थतन्त्र कमजोर बनेको छ, जसले वार्तालाई अझ महत्वपूर्ण बनाएको छ। तर, प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ । - एएफपी