
नेकपा एमालेका सांसद योगेश भट्टराईले सम्झौता भंग गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहलाई सेवासुविधा दिइरहन आवश्यक नभएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले उनलाई दिएको सेवासुविधा राज्यले खोस्नुपर्ने बताए । शाहले चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनमार्फत सम्झौता भंग गरेको भट्टराईको भनाइ थियो ।
‘उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो। त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो,’उनले भने, ‘अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन, सोच्नुपर्छ ।’
उनले दुर्गा प्रसाईंलाई लफंगाको संज्ञा दिँदै पूर्वराजाले लफङ्गाहरूलाई प्रदर्शनको नेतृत्व गर्न लगाएर जनताको घर जलाउन पठाएको बताए। यसर्थ तीनकुने घटनाको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले नै लिनुपर्ने भट्टराईको जिकिर थियो ।