
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी गराइएको छ ।
सभामुख देवराज घिमिरेले सांसद जबरालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसरको पत्र प्राप्त भएको उल्लेख गर्दै प्रतिनिधिसभा नियमावली २०७९ को नियम ४८ को उपनियम १ को प्रयोजनका लागि सदनलाई जानकारी गराइएको बताए ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी १६औं एनआरएनए क्षेत्रीय सम्मेलनमा सहभागी हुन यही चैत १४ माल्टा गएकाले उद्योग मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई दिइएको पत्र प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको पनि सभामुख घिमिरेले पढेर सुनाए ।
सदनमा सभामुखले त्यसबारे जानकारी दिँदै भने-
मा. सदस्यहरु, प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दुर्गा प्रसाई समेत भएको राज्य विरुद्धको अपराध सम्बन्धी कसूर समेतको मुद्दामा मिति २०८१ चैत्र १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्र राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आयोजनामा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन र सहभागितामा जनविद्रोह घोषणा सभा कार्यक्रम गर्ने भनी पूर्व निर्धारित विरोध कार्यक्रमको सुरुवाती चरणमै राष्ट्र राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल (राजावादी), राष्ट्रिय प्रजातन्त्र पार्टी समेतको अगुवाईमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री प्रतिनिधि सभा सदस्य माननीय डा. धवल शम्शेर राणा तथा अगुवाहरु दुर्गा प्रसाई, रविन्द्र मिश्र समेतका प्रदर्शनकारीहरु भेला जम्मा भई स्टेजमा गर्ने भनी तय भएको कार्यक्रमतर्फ ध्यान नदिई संसद भवन लागयतका महत्वपूर्ण प्रतिष्ठानहरु कब्जा गर्न जानुपर्छ भनी भिडलाई उत्तेजित बनाई गणतन्त्र नेपालको संरचनालाई पल्टाई राजतन्त्र स्थापना गर्ने भनी आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी गर्न लगाई कार्यक्रमस्थल नै छाडी सिधै हुल हुज्जत गर्दै विरोध कार्यक्रममा सहभागी भएका प्रदर्शनकारीहरुलाई प्रहरीसँग मुठभेड गरी निषेधित क्षेत्र तोड्नको लागि उत्प्रेरित गराई विभिन्न मिडिया हाउस तथा सुपर मार्केट, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी र प्रहरीका सवारी साधनहरु, सर्वसाधारण नागरिकको निजी घर, राजनैतिक दलका कार्यालय तथा राजनैतिक दलका नेताहरुको निजी निवास समेत तोडफोड र आगजनी गर्नुका साथै प्रहरी कर्मचारीलाई लाठी, ढुंगा, विभिन्न घरेलु हतियार तथा सवारी साधन जबर्जस्ती डिउटीमा खटिएको सुरक्षाकर्मी तर्फ हुईक्याँई प्रहरीको ज्यान मार्ने प्रयास लगायतका हिंसात्मक तथा ध्वंसात्मक गतिविधि गरी तिनकुनेस्थित प्रदर्शनकारीहरुको कार्यक्रमस्थल नजिकै रहेको घर, सो घरभित्र रहेका विभिन्न कार्यालयहरु समेत तोडफोड र घरभित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदाहुँदै आगजनी गरी ज्यान मार्नेसम्मको अपराध गर्दा समेत अगुवा नेता तथा कार्यकर्ताहरुले सो आपराधिक कार्यहरुलाई रोक्ने प्रयास नगरी उल्टै प्रदर्शनकारीहरुलाई उक्साई उत्तेजित बनाई माथि उल्लिखित आपराधिक कार्यहरु गरी राज्य विरुद्धको कसूर समेतको अपराध गरेको हुँदा सो कसूरमा प्रतिनिधि सभा सदस्य माननीय डा० धवल शम्शेर राणालाई तलितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १५ सातदोबाटोबाट मिति २०८१/१२/१५ गते अं. २१:०० बजेको समयमा पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान कार्य गर्दै रहेको व्यहोरा जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान तथा कारवाही शाखाको प.सं.०८१/०८२, च.नं. १६१८३ मिति २०८१/१२/१६ गतेको पत्रबाट लेखि आएको हुँदा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि सदनलाई जानकारी गराउँछु ।
हेर्नुहोस् भिडियो :