झापा, चैत १९ :

महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका- ३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ ।

उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ ।

विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए । उनका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।

उनका अनुसार विगतमा भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।

दश बिघा क्षेत्रमा फैलिएको किच्चकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम छ । विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ । 

विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्विक महत्त्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ ।