काठमाडौं, चैत १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् भएकाले संसद्‍मा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग आग्रह गरेका छन् ।

सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँग मंगलबार भएको भेटका क्रममा उनले संसद्को विषय संसद्‌बाटै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताए ।

सरकारले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको भन्दै उनले पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाए । उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गर्दै बसेको टिप्पणी गरे ।

सभामुखसँग सांसद पद निलम्बन फुकुवा गरिदिन रवि लामिछानेको आग्रह

‘सदनको यो सत्रको पहिलो दिनमा नै मैले प्रक्रियागत रूपमा सम्माननीय सभामुखज्यूलाई निवेदन नै दिएको थिएँ । अदालतको ढोकामा पुऱ्याइएको मुद्दाका आधारमा निलम्बन हुनुहुँदैन भनेर कानुनी कुरा राखेको थिएँ,’ सभापति लामिछानेले भने, ‘एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झगडा नै गर्ने भन्ने हुँदैन ।’

सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुङ्गिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरूमा नदेखिएको बताए ।

सभामुखलाई  लामिछानेले  निलम्बनमा रहेको आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेका थिए । तर, सभामुखले तत्काल त्यो सम्भव नरहेको र आफूले गर्न नसक्ने प्रतिक्रिया दिएको उनको सचिवालयले उद्धृत गर्दै जनाएको छ ।