
नयाँदिल्ली, चैत १९ :
भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर रहेको जनाइएको छ ।
प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।
हाल उद्दार कार्य जारी छ । प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ।